Home » 2016 » December

Monthly Archives: December 2016

यस्तो होस कविता

bright_softness_by_ellohine

                                                  “Bright Softness” by Ellohine

नहोस् कविता
कसैले अनुहारमा
चिसो पानी छ्यापे जस्तो –
छोअोस कविताले त गालामा
मयुरको प्वाँखले छोएसरी
अनी लागिरहोस पछिसम्म
मुटुभित्र काउकुती

नबनोस उपमाहरुको खात
अनी प्रतिकहरुको थुप्रो कविता –
देखियुन कविताका बिम्बहरु
पर हिमालमा हिउँ देखिएसरी
तैपनी होस् मनमा शीतल

ह्वार्र बलेर निमेषभरमै निभ्ने
खरको आगो झैँ नहोस् कविता –
बलोस कविता सालको मुढो झैं
मन्द राप दिएर रातभर
र, न्यानो बनाइरहोस्
वरिपरी बस्नेहरुका मन

नहोस् खहरे जस्तो कविता
एकैछिन गडगडाउँदै उर्लिने
अनी क्षणभरमै सुकिजाने –
कोशी जस्तो अविचल, अविराम होस् कविता
सतहमा शान्त
गहिराइमा निरन्तर बलिया प्रवाह

बनोस बरु जुनकिरीको पिलपिल कविता
र, लागोस देख्नेलाई पनि–
हो कि हैन ? छ कि छैन ?

फुलले समेत चाल नपाउने गरी
बसोस बरु पुतली झैँ कविता

छाओस मन्द सुवास सयपत्रीको झैं कविता
टक्क अडियोस हिँड्दै गरेको बटुवा,
र, तानोस लामो सास

सङ्ग्लो तलाउ झैं होस् कविता
र, देखियोस त्यहाँ
आफ्नो अनुहार छर्लङ्ग

खुला आकाश झैँ होस् कविता
बिना कुनै बाधा-ब्यबधान जहाँँ
पाइयोस निश्चिन्त भएर उड्न

कविले कविता हैन, कविताले लेखोस् कवि
अनी, झरोस हिउँ जस्तै नरम बनेर
पाठकको मनमा
फुस्स, फुस्स
र, जमेर बसोस हृदयमा
अनी, घाम बढ्दै जाँदा पग्लँदै झरोस कविता
तप्प, तप्प, तप्प . . .

यस्तो होस कविता

.

footer

%d bloggers like this: