Home » 2. Essays » मार्केसको ‘बुढो मान्छे’ र डा. गोविन्द के.सी.

मार्केसको ‘बुढो मान्छे’ र डा. गोविन्द के.सी.

befunky-collage

नोबेल पुरस्कार बिजेता कोलम्बियाली लेखक गाब्रियल गार्सिया मार्केस (१९२७-२०१४) को एउटा अनौठो कथा छ: “अजङ्गका पखेटा भएको बुढो मान्छे” । समुद्र किनारमा बस्ने पेलायो र एलिसेन्दाको आँगनमा एक रात एउटा अनौठो जीवको अवतरण हुन्छ । कपाल खुइलिएको, दाँत झरिसकेको र दुबै तिर निकै ठुला पखेटा भएको एउटा वृद्ध मान्छे । उसलाई देखेर शुरुमा त उनिहरु डराउँछन । तर आँगनको हिलोमा गाडिएको अत्यन्तै कमजोर र निर्दोष लाग्ने त्यो बुढो मान्छेलाई अली बेर नियालीसकेपछि भने उनिहरुको डर कम हुँदै जान्छ । त्यसमाथी छिमेककी एउटी महिलाले “यो पक्कै पनि आकाशबाट झरेको बुढो देवदुत हुनुपर्छ” भने पछि त उनिहरुको डर पुरै हट्छ । भोलीपल्ट देखी नै त्यो अद्भूत बुढोलाई हेर्न उनिहरुको आँगनमा विशाल भिड जम्मा हुन्छ । यो देखेपछि एलिसेन्दालाई एउटा जुक्ती आउँछ । उनिहरुले आफ्नो आँगनको वरिपरी बार लगाउँछन र त्यो अलौकिक बुढोलाई हेर्न चाहने प्रत्येक ब्यक्तीसँग पाँच-पाँच सेन्ट उठाउँछन । यो अनौठो समाचार सुनेर धेरै टाढा-टाढाबाट समेत मान्छेहरु आउँछन, उनिहरुको आँगन बाहिर सानो-तिनो मेला नै लाग्छ । र, एक हप्ता पनि नबित्दै उनिहरुको घर पैसाले भरिन्छ । त्यती मात्र नभएर उक्त बुढोको आगमन पछि ज्वरोले निस्लोट भएर थलिएको बच्चा पनि अचानक निको हुन्छ । यसरी, त्यो बुढो उक्त गरीब परिवारका लागि साँच्चिकै देवदुत साबित हुन्छ ।

बुढो मान्छेको अवतरण भएको केही समय पछि शहरमा अर्को त्यस्तै अनौठो घटना घट्छ । कतैबाट मान्छेको टाउको तर माकुराको शरीर र खुट्टा भएकी एउटी “टारान्टुला” केटी त्यहाँ आइपुग्छे । बुढो मान्छेलाई हेर्न पेलायो र एलिसेन्दाको घरमा जम्मा हुने रमितेहरुको भिड अब भने बिस्तारै त्यो अचम्मकी “टारान्टुला” केटी भएतिर सर्छ र उनिहरुको घर आँगन पहिला जस्तै सुनसान बन्छ । तर यो बिचमा जम्मा भएको पैसाले उनिहरु बरण्डा र फुलबारी सहितको आरामदायी दुई तल्ले घर बनाउँछन । कुखुराको खोरमा कष्टकर जीवन बिताइरहेको उक्त बुढाको भने उनिहरुले कुनै वास्ता गर्दैनन । उनिहरुका लागि अब उ केवल बोझ र परेशानी बाहेक केही रहँदैन । कष्टकर हिउँद सकिएर बसन्त ऋतु लागेपछि अचानक एक दिन त्यो बुढो खोरबाट बाहिर निस्कन्छ, आफ्ना खुइलिसकेका वृद्ध पखेटा फडफडाउँछ र बिस्तारै आकाशिन्छ । कथाको अन्तिम  दृश्यमा क्षितिजमा बिलाउँदै गरेको त्यो सानो बिन्दुलाई हेर्दै एलिसेन्दाले आफ्नो जीवनबाट एउटा झन्झटको अन्त्य भएकोमा सन्तोषको सास फेर्छे ।

जब मेडिकल शिक्षा र समग्र स्वास्थ्य क्षेत्र सुधार्ने उद्घोषका साथ डा. गोविन्द के.सी.ले आफ्नो पहिलो अनसनको घोषणा गरे, चारैतिर एउटा तरङग फैलियो । उनको सेवामुखी  पृष्ठभूमि, सरल निस्वार्थ जीवनशैली र बलियो अडानले सबैलाई अचम्मित पार्यो । जस-जसका बिरुद्द उनी लडेका थिए, तिनिहरुले त उनको सत्तोसराप गरे, बाँकी धेरैले उनको प्रशंसा र समर्थन नै गरे । माग पुरा भए, अनसन टुट्यो, तर कागजमा गरिएका सम्झौता कार्यान्वयन भएनन । डा. के.सी. फेरी अनसन बसे । र, जब यसरी अनसनको क्रमसंख्या बढ्दै गयो, शायद बिस्तारै डा. के.सी.को “न्युज भ्याल्यु” घट्दै गयो । यतीबेला दशौँ पटक अनसन बसिरहेका डा. केसीको समाचारमा शायद अब कुनै ‘चार्म’ छैन, न मिडियालाई न त सर्वसाधारणलाई नै । धेरैका लागि उनी एक ‘इरिटेसन’ बनिसकेका छन । उनको दसौँ अनसनकै दौरानमा ‘तरकारीवाली’ देखी कन्चन शर्मासम्म आइपुग्दा उनीभन्दा धेरै ‘आकर्षक’ र सनसनीपूर्ण कथाले पत्र-पत्रीका, टेलिभिजन र सामाजिक-सन्जाल भरीइसकेका छन । अस्पतालको चिसो कोठामा अनसनका पन्ध्रौँ दिन बिताउँदै गर्दा  डा. के.सी. बिस्तारै एक्लिँदै गएको आभाष धेरैलाई भएको छ ।

एक्काइसौं शताब्दीको समाज मिडियाको आँखाबाट आँफु र आफ्नो परीवेशलाई हेर्छ । बदलिँदै गएको प्रबिधीसँगै हाम्रो स्वभाव फेरिँदै जानु कुनै अनौठो कुरा पनि भएन । १४० क्यारेक्टरको ट्वीट, १६० क्यारेक्टरको एस.एम.एस., मिनेट-मिनेटमा सोसल मिडियामा अपडेट हुने न्युज-लिङ्क र घण्टा-घण्टामा फेरिने ब्रेकिङग न्युजका दृश्यहरुमा अभ्यस्त भएको हाम्रो पुस्तामा कुनै पनि कुराप्रती निरन्तरता र धैर्यताको अभाव एउटा स्वभाविक प्रब्रित्ती बनेर आएको छ । त्यसमाथी साना-ठुला प्रिन्ट र अनलाइन मिडिया यती धेरै छन कि कुनै पनि बिषयप्रती आफ्नो जे धारणा छ त्योसँग ठ्याक्कै मिल्ने समाचार र टिप्पणी मात्र हेरेर आफुलाई सही साबित गर्ने सुबिधा पनि सजिलै उपलब्ध छ । त्यसै गरी मिडिया गृहहरुलाई पनि देश भित्र र बाहिरका अनेक थरी प्रतिस्पर्धीहरु बिच आफ्नो “हिट काउन्ट” बढाउनै पर्ने चरम दबाब छ किनकी कुनै पनि मिडियाको अस्तित्व र बजार मोटामोटी यसैले निर्धारणा गर्छ । त्यसमाथी, समाचारको सामान्य चक्र (न्युज साइकल) पछ्याउने मिडियाको परिधीमा बर्षौँ लगाएर दशौं चरणमा पुगेको आन्दोलनको कथा संभवत सजिलोसँग फिट हुँदैन । र, त्यसपछि संभाव्य एउटै मात्र कुरा हुन्छ: जती नै महत्त्वपूर्ण किन नहोस्, त्यस्तो समाचारको बेवास्ता । पछिल्लो समय डा. के.सी.को सत्याग्रहप्रती आम नागरिकको मात्र नभएर मिडियाको पनि उदासिनताले शायद यही कुरा पुष्टी गर्छ ।

तर डा. के.सी.को सत्याग्रह धेरै हिसाबले हाम्रो समाजका लागि एउटा प्रतिनिधि घटना हो । एकजना निष्ठावान व्यक्तीले कुनै राजनैतीक दल वा पदको आड बिना पनि परिवर्तनका लागि कत्रो लहर सिर्जना गर्न सक्दो रहेछ भनेर प्रमाणित गर्न सक्नु यसको अत्यन्त सकारात्मक पाटो हो । तर, नौ पटक ‘सफल’ अनसन बसेर पनि आफुले उठाएका मुद्दा जहाँ को तहीँ रहनु र सम्झौता भएका कुराहरु कार्यान्वयन गराउन हरेक पटक पहिल भन्दा झन धेरै जटिलता सिर्जना हुनु भ्रष्टाचारको जरो कती गहिरो, बलियो र व्यापक छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि हो ।

तपाईंलाई डा. के.सी. फेरी अनसन बसेको समाचार पढ्नमा कुनै रुची छ ? छैन, मलाई थाहा छ । तर, हाम्रो मेडिकल शिक्षा र हाम्रो समग्र स्वास्थ्य क्षेत्र सुध्रियोस भन्ने चाहना छ ? अझ, डा. के.सी. जस्ता ब्यक्तीहरु अरु क्षेत्रमा पनि निस्किउन, अरु क्षेत्र पनि सुध्रिउन भन्ने कामना छ ? अबश्य छ । त्यसैले पनि डा. के.सी.को आन्दोलनलाई साथ दिनुको कुनै बिकल्प छैन । यहाँनिर बिर्सन नहुने कुरा के हो भने दशकौँ चलेको भ्रष्टाचारको चक्रलाई तोड्नका लागि डा. के.सी.ले छेडेको आन्दोलनलाई तार्किक निस्कर्षमा पुर्याउन हाम्रो समाचारको प्रब्रित्ती र चक्र तोडिनु पनि उत्तिकै आबश्यक छ । डा. के.सी.ले जिते भने उनले सुधार्न खोजेको क्षेत्र त सुध्रिने नै छ, त्यसको साथ-साथै अरु क्षेत्रहरुमा सुधारका लागि प्रयासरत ब्यक्तीहरुलाई हौसला पनि मिल्नेछ । तर उनी हारे भने उनको आन्दोलनबाट आजसम्म हासिल भएका उपलब्धीहरु शुन्यमा झर्ने त छँदैछन, यसले करोडौँ जनताको हितको बिरुद्दमा मुठ्ठीभर व्यापरीको जित सुनिस्चित पनि गर्ने छ । क्रान्ति बारबार हुँदैन, डा. के.सी. जस्ता मान्छे समय र परिस्थितीको जटिल आवश्यकताले मात्र जन्माउँछ । उनको आन्दोलनबाट अहिलेसम्म जे जती उपलब्धी हासिल भएका छन, तिनका लागि धेरै समय र परिश्रम लागेको छ । तर उत्कर्षमा पुग्न लागेको आन्दोलनले कठिन मोडमा हाम्रो पर्याप्त सहयोग र साथ पाएन भने हालसम्मका उपलब्धीहरु पूर्ण रुपमा निष्प्रभावी बन्न समय लाग्ने छैनन । यो एक्लो लडाईं हारे नै भने पनि डा. के.सी.ले ब्यक्तीगत रुपमा गुमाउने कुरा संभवत: धेरै नहोलान । तर उनको सत्याग्रहका उपलब्धीलाई समयमै संस्थागत गर्न सकिएन भने हामी र हामी पछिको पुस्ताले त्यसको ठुलो मुल्य चुकाउनु पर्ने छ । र, त्यो हाम्रो मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र सिमित नभएर समग्र जनकल्याणकारी ब्यबस्थाका बिरुद्दमा मुठ्ठिभर व्यापारीको स्थायी जित बनेर संस्थागत हुनेछ । डा. के.सी. जसका बिरुद्द अहिलेसम्म लडे, तिनीहरु यतिखेर यस्तै परीणाम पर्खेर बसेका छन ।

परिवर्तन सजिलै आउँदैन । त्यसमाथी दशकौँ देखी कुशासनको जालोमा जकडिएको हाम्रो जस्तो समाजमा सडकमा नारा लगाएकै भरमा परिवर्तन आउला र त्यसले आम जनतालाई सुख देला भनेर कसैले सोचेको छ भने उ अझै सपनामै छ । डा. के.सी.को आन्दोलनबाट हामीले सिक्न चाहेमा सिक्न सक्ने एउटै कुरा हो: अडान, निरन्तरता र धैर्यता । तर केही समय यता आएर आम नेपाली मिडियामा डा. के.सी.प्रती देखिएको उदासिनता र अझ सामाजिक संजालमा फाट्ट-फुट्ट अभिव्यक्त हुन थालेको चिडचिडाहटले उनको आन्दोलनबाट हामीले केही पनि सिक्न नसकेको कुरा बिस्तारै प्रस्टिंदै छ । डा. के.सी.को आन्दोलनमा शुरु देखी नै लागेको एउटा सानो तर निष्ठावान र कटिबद्द समुह छ, त्यसले अहिले पनि उनलाई त्यत्तिकै साथ दिएको छ । र, उक्त समुह हामी सबैको साधुवादको पात्र बनेको छ । तर त्यसभन्दा बाहिर रहेको आम जनसमुदायबाट जुन खालको व्यापक साथ र समर्थन उनको आन्दोलनले पाउनु पर्थ्यो, त्यो पाउन नसकेको छर्लङ्गै छ । हामी सबैमा डा. के.सी.मा जस्तो आँट र हिम्मत छैन, उनको जस्तो अडान, एकाग्रता, धैर्यता र निरन्तरता पनि छैन । उनी जस्तै गरी हामी अनसन बस्न पनि सक्दैनौ । तर हाम्रा लागी र हामी पछिको पुस्ताका लागि उनले गरिरहेको निस्वार्थ सत्याग्रहलाई साथ दिन त सक्छौं कि ?

अस्पतालको त्यो सानो  कोठामा आज पन्ध्रौँ दिनसम्म एक्लै सुतिरहेका यी बुढा डाक्टरलाई देख्दा सारा जाडोको याम कुखुराको साँघुरो खोरमा बिताएको त्यो मार्केसको बुढाको झल्को आउँछ । उक्त कथामा त पेलायो र एलिसेन्दाको परिवारको लागि बरदान बनेर आएको त्यो बुढोको ठाउँ “टारान्टुला”ले लिइसकेपछि उ एक दिन चुपचाप क्षितिजमा एक बिन्दु बनेर हराउँछ । के हामी पनि कृतघ्न बनेर त्यही क्षणको प्रतिक्षा गरिरहेका छौं ?

– प्रकाश सुबेदी (मंसिर १३, २०७३ )

footer

Advertisements

3 Comments

  1. Anonymous says:

    respect your vision and thought mite ….

    Liked by 1 person

Would you like to leave a comment for this post?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: