Home » Miscellaneous » नासीर अहमद नसिरका कविताहरु

नासीर अहमद नसिरका कविताहरु

कविताको अनुवाद झण्डै असम्भव काम लाग्छ मलाई । त्यसमाथी स्रोत भाषाबाट सिधै नभइ दोस्रो भाषामा गरिएको अनुवादबाट कविताको अर्को अनुवाद गर्दाको नतिजा प्लेटोले भने झैँ  ‘यथार्थ भन्दा दुई गुणा पर’ (twice removed from reality) नहोला भन्न सकिन्न । पहिलो चरणमा उर्दुबाट अङ्ग्रेजीमा अनुवाद भएका यी कवितालाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्दा कती ठाउँँमा कविताको सिलसिला टुट्यो होला अनी कती ठाउँँमा अर्थ हरायो होला, मलाई थाहा छैन । तैपनि प्रसिद्द पाकिस्तानी कवि नासीर अहमद नसिरका सुन्दर कविताका केही झिल्का यसमा कताकती आएछन भने मात्र पनि मेरो प्रयास ब्यर्थ जाने छैन भन्ने विश्वासका साथ यो अनुवाद तपाईंँहरुसँग ‘शेयर’ गर्दैछु ।  यो अनुवाद “शान्तीका लागि दक्षिण एसियाली कविता उत्सव २०१३” (South Asian Poetry Festival for Peace 2013)  मा वाचन /प्रकाशनका लागि गरिएको हो । 

( Poems by Naseer Ahmad Nasir, Translated from Urdo into English by Dr. Bina Biswas, translated from English into Nepali by Prakash Subedi)

 

nasir

१. सिमाङ्कन

हुरी र बर्षा बोकेर
उनिहरू हामीलाई भेट्न आउँछन
ढोका छेउमा
उनिहरूका खासखुस सुनिन्छन;
खाली बरण्डा
तिनका शरीरका बास्ना
र, लुगाका सरसराहटले भरिन्छन;
पर्खालहरू नाघ्दै,
छाना र बलेंसीहरूमा चिप्लँदै
बादलको छायाँसरी
सुस्त पदचापमा हिँड्छन उनिहरू;
आधा छापिएका चोकको निशब्दतामा
आँखाले उनिहरूलाई
पहुँचभन्दा टाढाको अनन्त दुरीतर्फ
गैरहेको देख्छन ।

अल्छि मानेर हाइ गरिरहे झैं लाग्ने झ्यालहरू
सोचमग्न छन —
यो भुमिलाई पराजित गरेर, र यसको छातीमा टेकी ,
यी हिमालहरू सगर्व आकाशतर्फ हेर्छन
त्यसभन्दा पर एउटा ताल होला,
अनी होलान चराहरू र सेता बादल, र
झुम्म परेका रुख
र खस्रो चौर;
भेडाका बथान, एक्ला गोठाला;
टाढा–टाढा भागीरहेका गोरेटा; र
र कुनै देशमा
कुनै गाउँ र कुनै शहर हुनुपर्छ
जहाँ म जस्तै कवी
कविता लेख्छ ।

सिमाङ्कन कागजमा सजिलो हुन्छ –
केही चिन्ह र धर्का,
टाकुरा, नदि, खोला, भिराला जमिन
चरन, साना वस्ति, क्षेत्राधिकार, बजारहरू
खोँच र अज्ञात गल्ली;
अझ हतियारले सुसज्जित लामबद्ध सिपाही भएका
किल्लाहरू पनि कोर्न सकिन्छ;
तर पर्खाललाई अवज्ञा गर्दै
छायाँहरू ढोका, झ्याल र आँगनतर्फ लम्बिन्छन
अनी, हृदयका सुदुर कन्दरालाई शुन्यताले स्पर्श गर्छन्
र, नक्सामाथी
सुर्य र बर्षाले आफ्नो रङ परिवर्तन गर्छन् !

.

२. जीवन भन्दा रात लामो छ

हो ! यो नै सत्य हो !
माटोबाट टुसाएर आकाशमा झाँगिएको फसल
यही नै हो –
त्यसबेला हामी धेरै टाढा हिँडेका थियौं, र
अबेरसम्म जागै बसेका थियौं ;
अनी, हामी बिच प्रश्नोत्तरको अनन्त शृङ्खला चलेको थियो,
र, थियो लामो दुरी ।
जब हाम्रा आत्माले उडान सिके
त्यतिबेलै सबै प्रष्ट भयो –
हामीलाई एउटा अन्तहिन बाटो देखाइयो
जसको कुनै सुरुवात नै थिएन !
र, तिमीलाई त थाहै छैन
रात यो पृथ्वीमा जीवनभन्दा प्राचिन हो भनेर ;
र, तिम्रो हराभरा यौेवनले
न मेरो भोक मेट्न सक्छ
न मलाई आफ्नो चमकले
बाँध्न सक्छ
तिमी नजिक आयौ र मलाई बोलायौ
तर म केवल मौन मात्र रहन सकें
किनकी मेरो मौनता नै मेरो सुरक्षा थियो ।
अन्न भित्र्याउनेहरूका शिर र हात
धुलो–पिठो पार्नेहरूलाई
कलम र कुचीको कलाको मुल्य के थाहा
हिलेबाटो बन्नुभन्दा पहिलेनै
दाउराको भारी बोक्दै गर्दा,
वस्तुभाउ खेद्दै गर्दा
रङहरूको बलीका लागि तिर्खाएको थियो त्यो
जहाँ ज्ञान एक्लो बन्छ
एक्लो र असुरक्षित . . .
बेला बखत म जोतिएर जमिनभित्र रोपिएको छु
र भित्र्याइएको छु फसलझैं ।
म जमिनको बिज हुँ
ब्रह्माण्डको सार–तत्त्व
तिम्रो आवाजले मलाई अंकुरित हुन विश्वास दिलाउने थियो
र, एक दिन हामीले नदिहरू पार गर्ने थियौँ
अनी पुग्ने थियौँ त्यहाँ
जहाँ न कुनै बाटो छ न कोही यात्री
न बिहानी छ न त साँझ नै
केवल एक अद्वितिय कुहिरो
र, हिमाली रात
जसको अन्तमा
(र, रातको अन्त कहाँ हुन्छ !)
समयको छाना भएको माटोको भित्तो
र धेरै माइल पर
अनगिन्ती बाटाहरू
एउटा सडकमा गएर मिल्छन
लामो र अन्तहिन सडक
हामी हिंडेर बनाएका सडक
र हामीले रोपेका रुख
हामी बिर्सन सकौँला र ?

.

३. प्रकाश स्तम्भ

भन मलाई,
मेरो आँखामा अनिंदो बसिरहेको, ए शीत,
कुन युगको कुन निद्राले तिमीलाई घेरेको छ !
पिडाको कुनै देशमा
भगवान आँसुको बर्षा गरिरहेको छ
उनको परेलिमा
एक थोपा मोती किन अल्झेको छ ?

भन मलाई, ए समुद्र किनारको पवन !
द्रविभुत यात्राको क्रममा
प्रेमलाई एक द्वीप,
अनी शोकलाई त्यहाँसम्म पुग्ने नौका भन्ने उनी
कुन शहरमा खोज्दै होलिन मलाई !

बताउ मलाई, ए मेरो मुक्तीको पवित्र नाम
मैले बिदाइको रीत पुर गर्नेछु
र भेट्नेछु उनलाई ढुङगे स्तम्भहरूको लामो पङ्क्तीबीच
र, उनलाई आफ्नो अङगालोमा लिएर
शुरु गर्नेछु महायात्रा
संसारको
फगत एक चुम्बनका लागि ।

भन मलाई, ए प्रकाशको प्रतिक !
पानीमा डुबेका
यी शिखरबिहिन चट्टान
बितेका शताब्दीका अमुर्तता हुन,
वा हुन अनन्तको साँधमा ढलेका
दन्त्य कथामा डुंगा खियाइरहने
दासहरूका चित्कारका
आकारहिन मुर्ती ?

बताउ मलाई, समयको सुदुर सिमासम्म उड्ने
ए जादुको चरा !
मलाई भन, उनी कहाँ छिन
जसलाई सम्झेर
हराइरहेका प्राचिन स्वर
मेरो हृदयमा केन्द्रित हुन्छन !
मलाई बताउ, ए धर्तीका तारा
किन यात्रीहरू तिम्रै सपना देख्छन ?

.

४. पानीमा हराएका सपना

सपना र चाहनाको बिचमा
कुनै दुरी छैन
पानी र आँखामा देखिने प्रतिबिम्बको बिचमा
कुनै ऐना छैन ।
पिडाको त्रिभुजभित्र
बिचारका धर्काहरूले बनाएका आकारमा
कुनै झुकाव छैन ।
अनगिन्ती मानवजातीले
देखेका सपना उस्तै छन
तर निद्रा र रातका पहरा
उस्तै छैनन् ।

आणविक भट्टिमा
नामहरू बिर्सिइन्छन
आणविक बिष्फोटनद्वारा
उत्पादित विकिरणका
कोडहरू सम्झीइन्छन
सपनाहरू बहुलाउँछन
शहरहरू डुब्छन
न्युक्लियसहरू बिलिन हुन्छन
नाचको अवलोकनमा
कक्षहरू खस्छन
पृथ्वी र सुर्य त छन
तर भगवान शहिद बन्छ ।

युगौं–युगमा एक पटक
उज्यालोको एक झिल्का
बिष्फोट हुन्छ र
टुक्रिएर बिष्फारित हुन्छ
यो दुर्घटना हो,
तर, अहँ, घटना हैन !
ईतिहास निरन्तरता हो
एक पटक नष्ट भईसकेका
टेलिस्कोप आँखा
थकित हुन्छन
र, आफ्ना दुर–अवलोकन त्यागिदिन्छन,
विलिन भएका ग्रहहरू
र, बितेका युगलाई
जोड्न सकिँदैन ।
साना नानीहरूका
बसन्त झैँ कोमल हातमा
कस्ले देख्ला खै फुलहरू !
आउने शताब्दीहरूमा
तिम्रा र मेरा सपना
कस्ले देख्ला खै ?
पानीमा हराएका सपनाका बारेमा
कसैलाई थाहा छैन !

.

footer

Advertisements

1 Comment

  1. Naseer Ahmed Nasir says:

    Thanks Prakash. Its my honour to see my poetry in Nepali. Really grateful. Regards and good wishes!!

    Liked by 1 person

Would you like to leave a comment for this post?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: