Home » 8. Reviews » “गद्यकारका रूपमा देवकोटा”: देवकोटा अध्ययनमा एक नयाँ कृति

“गद्यकारका रूपमा देवकोटा”: देवकोटा अध्ययनमा एक नयाँ कृति

पुस्तक समीक्षा

— प्रकाश सुवेदी

49s२०६५ सालको लक्ष्मीपुजादेखि २०६६ सालको लक्ष्मीपुजासम्म महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी देशव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाइयो । राष्ट्रिय र स्थानीय तहमा देवकोटाको स्मृती र सम्मानमा साहित्यिक गोष्ठीहरू, साङ्गीतिक कार्यक्रमहरू, चित्रकला प्रदर्शनी, कविता र निबन्ध प्रतियोगिताहरू वर्षभरि नै आयोजना गरिए । शतवार्षिकी कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष भने वर्षभरि र त्यसपछि पनि निरन्तर रूपमा प्रकाशित देवकोटा विशेष प्रकाशनहरू रहे । नेपाली साहित्यको विकाशमा निरन्तर लागिरहेका सबै जसो संस्थाहरूले आफ्ना नियमित प्रकाशनहरूका देवकोटा विशेषाङ्क निकाले । त्यसका अतिरिक्त देवकोटाको व्यक्तित्व र कृतिहरू माथि अनेकन महत्वपूर्ण समालोचनाहरू पनि यसै अवसरमा प्रकाशित भए । प्रा. डा. रविलाल अधिकारी लिखित गद्यकारका रूपमा देवकोटा यहि सन्दर्भको एक उल्लेखनीय कृति हो । पोखरामा रहेर नेपाली लोकबाङ्मयको क्षेत्रमा सक्रिय संस्था अलिमियाँ  लोकबाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको यो कृतिले देवकोटा अध्ययनका क्रममा अलि छायाँमा परेको विषयलाई समालोचनाको मुलधारमा ल्याउने प्रयास गरेको छ ।

महान् स्रष्टाहरू समय र स्थानको परिधीमा बाँधिदैनन् । उनीहरूका सृजना सदियौँसम्म उत्तिकै महत्वपूर्ण रहन्छन् । यो कुरा महाकविको सन्दर्भमा पनि लागु हुन्छ । पुस्तकको सार्थकता प्रमाणित गर्ने क्रममा अधिकारी भन्छन्, “उहाँ (देवकोटा) जति–जति पुरानो बन्दै जानुभएको छ, उति–उति नयाँ र व्यापक बन्दै जानुभएको छ” (“लेखकका तर्फबाट”) । निश्चय नै जीवनीपरक अनि प्रभावपरक समालोचनाको परम्पराबाट अगाडि बढेर देवकोटाका कालजयी कृतिहरूलाई समालोचनाका अन्य धार र आयामहरूबाट अध्ययन गरि उनको नवीनता, आधुनिकता र व्यापकताको अध्ययन अबको आवश्यकता हो । अधिकारीका अनुसार अरूले धेरै पटक लेखिसकेका विषयमा पुनः लेख्नुभन्दा यसअघि यथेष्ट चर्चा नगरिएका विषयमा लेख्नु बढी उपयोगी हुने महशुस गरी यो पुस्तक लेखिएको हो ।

यो पुस्तकलाई मुख्यतः तीन भागमा बाड्न सकिन्छ । “देवकोटा र नेपाली गद्य” शिर्षक दिइएको पहिलो भाग नेपाली गद्य परम्पराको संक्षिप्त इतिहासबाट सुरू हुन्छ । यस खण्डमा “पण्डिते शैली”को नेपाली भाषालाई आधुनिक, सक्षम र समृद्ध भाषा बनाउनमा देवकोटाले दिएको योगदानको चर्चा गरिएको छ । अधिकारी भन्छन् : “आधुनिक नेपाली गद्यका सन्दर्भमा देवकोटाको ठूलो योगदान छ । उहाँले आर्जन गरेको पूर्वीय ज्ञान र पाश्चात्य शिक्षाको ज्ञान उहाँका लेखनका सन्दर्भमा आएकाछन् । यिनीहरूलाई तुलना गरेर उपयोगितालाई ध्यान दिइ राम्रा पक्षमात्र भित्र्याउने काम देवकोटाले गरेको देखिन्छ”(९) ।

पुस्तकको दोस्रो भागमा गद्यकारका रूपमा देवकोटाका विभिन्न आयामहरूको क्रमैसँग अध्ययन गरिएको छ । देवकोटाको निबन्धकार व्यक्तित्वको विश्लेषणबाट सुरू भएर उनको कथाकार, नाटककार र उपन्यासकार व्यक्तित्वको विश्लेषणसँगै उनको समालोचक व्यक्तित्वको चर्चा यो भागमा गरिएको छ ।

devkota 2विश्व साहित्यकै कान्छो विधा मानिएको निबन्ध लेखनमा देवकोटाभन्दा केही अघिका लेखकहरूले १९७० को दशकदेखि नै कलम चलाए पनि शारदाको प्रकाशन अघि यसको उल्लेख्य विकास हुनसकेको थिएन शारदा, युगवाणी, साहित्य श्रोत जस्ता पत्रिकाहरूमा फुटकर निबन्धहरू छपाएर र २००२ सालमा लक्ष्मी निबन्ध संग्रह नामक निबन्धहरूको संगालो प्रकाशित गराएर निबन्ध लेखनमा युगीन परिवेशले सुम्पीएको दायित्वलाई देवकोटाले पुरा गरेको कुरा अधिकारीले उल्लेख गरेका छन् । उनका अनुसार देवकोटाका निबन्धका मूल प्रवृतिहरूमा आत्मकथात्मक निजात्मकता, स्वच्छन्दतावाद, हाँस्यव्यङ्ग्यात्मकता, बौद्धिकता, जनपक्षियता, असन्तुलित आकारात्मकता आदि छन् । गद्यकारका रूपमा देवकोटाले सबैभन्दा बढी लेखेको विधा अनि गद्यकारका रूपमा नेपाली साहित्यलाई सबैभन्दा बढी योगदान पुर्याएको विधापनि निबन्ध नै रहेको ठहर लेखकको छ ।

अधिकारीले कथाकार देवकोटामा शासक वर्गको विरोध, नारी विद्रोह, धार्मिक अन्धविश्वास र रूढी प्रति व्यङ्ग्य, वर्गीय भावनाको आधार, घटनात्मकता, रहस्यात्मकता, निबन्धात्मकता, व्यङ्ग्यात्मकता आदि प्रवृत्तिहरू पहिल्याएका छन् । यसैगरि उनले नाटक अनि उपन्यास विधामा पनि देवकोटाको विशिष्ट योगदान रहेको उल्लेख गरेका छन् । कृषिबालाका सम्बन्धमा अधिकारीको कथन छ, “देखाउनका निमित्त नभई हृदयबाटै जनताको अवस्था सुधार्ने कुरामा समर्पित भावना भएका देवकोटाका कलमबाट लेखिएको हुनाले देवकोटाको कृषिबाला अन्य थोत्रा नाटकहरू भन्दा फरक हुनसकेको हो” (६६) ।

बहुुमुखी प्रतिभाका धनी देवकोटाले कलम नचलाएको कुनै पनि विधा छैन । कथा र नाटक जस्तै उनले उपन्यास लेखनमा समेत हात हाले । फलस्वरूप उनको उपन्यास चम्पा जन्मियो । अधिकारी भन्छन् : “(अन्य उपन्यासकारहरूका) विशालकाय ठेलीहरूलाई विशिष्ट उपन्यास ठानेका समालोचकहरूले लघुउपन्यास चम्पाको चर्चा गर्न कन्जुसी गरेपनि यसभित्रका द्वन्द र संघर्षले छोटो र मिठो बनाएर नेपाली समाजको वास्तविकता प्रकट गरेका छन्” (७८) । उनका अनुसार देवकोटाको कवि, निबन्धकार, समालोचक र कथाकार व्यक्तित्वको छायाँमा परेकोले उपन्यासकार व्यक्तित्वमा पाठकको आँखा पुग्न नसकेको हो, तर यथार्थमा देवकोटाको उपन्यासकारिता पनि उत्तिकै उल्लेख्य छ ।

पुस्तकको दोस्रो भागको अन्तिम खण्डमा अधिकारीले देवकोटाको समालोचकीय व्यक्तित्व र योगदानको चर्चा गरेका छन् । देवकोटाका समालोचनात्मक लेखहरू विविध स्वरूपमा प्रकट भए । आफूले ट्युसन पढाउने क्रममा विद्यार्थीहरूका लागि आफ्ना कविताहरूको बारेमा उनले टिप्पणी लेखिदिए । आफ्ना अनि अरूका साहित्यिक कृतिहरूमा भूमिकाहरू लेखे । र, केही लेख समालोचनाकै निमित्त भनेर पनि लेखे । अधिकारीका अनुसार देवकोटाका समालोचनात्मक लेखमा मुख्यतः आत्मपरकता, वस्तुपरकता, तुलनात्मकता, सैद्धान्तिकता, ऐतिहासिकता, विश्लेषणात्मकता जस्ता प्रवृत्तिहरू देख्न सकिन्छ । स्वच्छन्दतावादी साहित्यकार भएकाले उनको भाषाशैलीमा कठोर अनुशासन होइनकी बरू कवितात्मक भाषा समेत देखिन्छ ।

पुस्तकको तेस्रो तथा अन्तिम भागमा गद्यकारका रूपमा देवकोटाको योगदानको चर्चा गरिएको छ । देवकोटाको काव्यलेखनमाथिको संक्षिप्त चर्चाबाट शुरू भएको यो भागमा देवकोटाको गद्य लेखन र गद्यको विधागत योगदानको विस्तृत छलफल गरिएको छ । अधिकारीको निष्कर्ष छ : “देवकोटालाई महान् बनाउने कारणहरू उहाँको विशेष किसिमको प्रतिभा, पूर्विय र पश्चिमी साहित्यको बोध गर्ने अध्ययन, मानवसेवा गर्ने भावना, समय र परिवर्तनलाई आत्मसाथ गर्ने अथवा समसामयिकतको चेतना र संलग्नता जस्ता कुराहरूलाई देवकोटालाई महान् बनाएका छन् । यी कुरालाई ख्याल राखेर अध्ययन गर्न सकियो भने मात्र देवकोटालाई बुझ्न सकिन्छ” (१२९) ।

यसरी समग्रमा हेर्दा प्रा.डा. रविलाल अधिकारीको यो समालोचनात्मक ग्रन्थ देवकोटा अध्ययनको क्रममा ओझेलमा परेको पक्षलाई प्रकाश पार्ने प्रयासमा केही हदसम्म भएपनि सफल भएको छ । नेपाली भाषा, साहित्य र यसको विधागत इतिहासका केही आयामहरूको चर्चा गरी देवकोटाको गद्यलाई त्यो सन्दर्भमा अध्ययन गर्ने कार्य तर्फ यसले बढाएको कदम प्रशंसनिय छ । यो निकै सफल पनि रहेको छ । आफैमा पूर्ण ग्रन्थ भन्दा पनि देवकोटाको गद्यको अध्ययनलाई अगाडी बढाउनमा यसको महत्वपूर्ण योगदान रहने विश्वास लिन सकिन्छ ।

पुस्तकमा कमजोरीहरू हुँदै नभएको भने होइनन् । पुस्तकको सबैभन्दा ठूलो कमजोरी भनेको यसले देवकोटाको गद्यकारीताको समग्र अध्ययन भन्दा पनि बढि माक्र्सवादी दृष्टिकोणबाट अध्ययन गरेको महशुस ठाउँ–ठाउँमा हुन्छ । यसले गर्दा देवकोटाको लेखनमा रहेका अन्य कैयौं प्रवृत्ति र सम्भावनाहरू समालोचकको चर्चाबाट ओझलेमा परेको भान हुन्छ । पुस्तकमा खट्किने अर्को कुरा भनेको देवकोटा गद्यकोे विधागत मूल्याङ्कन हो । जस्तोसुकै महान् लेखकको पनि कुनै विधामा सशक्त पकड हुन्छ भने अर्को विधामा त्यस्तै पकड नहुन सक्छ । उदाहरणका लागि शेक्सपियरले नाटक बाहेक सनेट (चौध हरफे कविता) पनि प्रशस्त लेखे । उनका नाटकहरू अन्य नाटककारका नाटकभन्दा निकै माथिल्लो स्तरका मानिन्छन् तर उनका सनेटहरूमा भने त्यस्तो विघ्न विशिष्टता नभएको समालोचकहरू स्विकार्छन् । देवकोटाको लेखनमा पनि संभवत यो कुरा लागू हुन्छ । काव्य लेखन र निबन्ध लेखनमा उनले आफुलाई पुर्याएको उचाइमा अन्य कुनै नेपाली साहित्यकार अहिलेसम्म पुग्न सकेका छैनन् । उनको कथा, उपन्यास र नाटक लेखनको छुट्टै स्थान रहे पनि त्यस्तो विशिष्टता भने नरहेको धारणा आम पाठक समालोचकहरूको छ । प्रा.डा. अधिकारीले भने यो कुरा स्वीकारेका छैनन् । अध्ययन नभएकाले मात्र ति विधाहरू पछाडी परेको उनको दाबी छ । आफूले दावी गरेका कतिपय कुराहरूलाई प्रमाणसहित पुष्टि गर्न नसक्नु, ठाँउ–ठाँउमा समालोचना भन्दा भावनाको प्रवाह बलियो हुनु, र जटिल वाक्य संरचना र अप्ठ्यारो शब्दको प्रयोग अधिकारीका अन्य कमजोरीहरू हुन् । उनको सन्दर्भ सूचीमा पनि केही कमजोरीहरू देखिन्छन् ।

यी केही कमजोरीहरूका बाबजुद पनि प्रा.डा. रविलाल अधिकारीको गद्यकारका रूपमा देवकोटा नामक समालोचनात्मक पुस्तक नेपाली साहित्यमा चासो राख्ने सबैका लागि र विशेष गरी देवकोटा अध्ययन अनुसन्धानमा लागेकाहरूका लागि एक पठनीय र संग्रहणीय कृति भएको कुरामा भने कसैको दुईमत हुन सक्दैन ।

सन्दर्भ ग्रन्थ
अधिकारी, रविलाल । गद्यकारका रूपमा देवकोटा । पोखराः अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, २०६६ ।

_________

गद्यकारका रुपमा देवकोटा : देवकोटा अध्ययनमा एक नयाँ कृति” । मिर्मिरे : महाकवी लक्ष्मीप्रसाद देवकोटा बिशेषाङ्क विमर्श (बर्ष ३९, अङ्क १, पूर्णाङ्क २९६, बैशाख २०६७, नेपाल राष्ट्र बैङ्क ) ।

footer

Advertisements

Would you like to leave a comment for this post?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: